स्व. डा. भोलानाथ चालिसेका प्रकाशित लेखहरुको संग्रह “अल्पविराम” सार्वजनिक

वरिष्ठ अर्थशास्त्री तथा नेपाल सरकारका पूर्व सचिव स्व. डा. भोलानाथ चालिसेको योगदानलाई स्मरण गर्दै समृद्धि फाउण्डेशन तथा चालिसे परिवारले २०७३ वैशाखमा उनको दुखद निधनको पहिले वर्ष पुग्दा  उनको स्मृतिमा उनका प्रकाशित लेखहरुको संग्रह “अल्पविराम” तयार पारी सार्वजनिक गरेका छन्।

दुई दशक भन्दा लामो समय निजामती सेवामा बिताउनुभएका र निरन्तर देशको आर्थिक सुधारका बारे आवाज उठाउने अर्थशास्त्री तथा नेपाल सरकारका पूर्व सचिव स्व. डा. भोलानाथ चालिसेको दुखद निधनको २०७३ वैशाख १ गते एक वर्ष पूर्ण भएको छ । स्पष्टवक्ता र स्वच्छ आचरण भएका भनेर चिनिने डा. चालिसे उद्योग नीति, २०४९, औद्योगिक व्यवसाय ऐन, २०४९, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९, र कम्पनी ऐन, २०५३ जस्ता नीतिहरुका प्रमुख शिल्पी थिए । उदार अर्थतन्त्रका हिमायती भनेर परिचित डा. चालिसेले आफ्नो जीवनअवधिभर उदारवादी सिद्धान्तमा रहेर संघियता, विकेन्द्रीकरण, केन्द्रिय योजना, आर्थिक नीति, विदेश नीति आदि जस्ता विषयहरुमा सयौं लेखहरु लेखे र देशको अर्थराजनीतिक परिवेशमा आवश्यक र सुहाँदो सुधारहरुका लागि आफ्ना लेख तथा अन्तरवार्ताहरुबाट आवाज उठाए । उनको यही योगदानलाई स्मरण गर्दै समृद्धि फाउण्डेशन तथा चालिसे परिवारले उनका लेखहरुको संग्रह “अल्पविराम” तयार गरी उनको स्मृतिमा आज सार्वजनिक गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रममा नेपालको आर्थिक सुधारको दोस्रो चरण विषयमा छलफल पनि गरिएको थियो र उपस्थित हुने केही विषेश अतिथि र वक्ताहरुमध्ये नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल, पूर्व सचिव श्री विमल वाग्ले, उद्यमी तथा नेपाल युवा उद्यमी मन्चका निवर्तमान अध्यक्ष श्री निरन्जन श्रेष्ठ, नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष श्री विज्ञान अधिकारी आदि रहेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व सचिव श्री विमल वाग्लेले भन्नुभयो “कर्मचारीहरुमा शायद व्यक्तिगत रुपमा क्षमता भएर पनि संस्थागत हितमा प्रयोग हुन नसकेको र संस्थागत हिसाबको क्षमता ह्रासोन्मूख हुँदै इमान्दारीता खस्कदँै गएको अवस्थामा डा.चालिसे जस्तो निजामती प्रशासकलाई सम्झनु झनै महत्वपूर्ण छ” ।

त्यसै गरी उद्यमी तथा नेपाल युवा उद्यमी मन्चका निवर्तमान अध्यक्ष श्री निरन्जन श्रेष्ठले डा. चालिसेको कामको सराहना गर्दै भन्नुभयो “अहिले हामी जस्ता उद्यमीहरु खुला अर्थतन्त्रलाई अगाडि बढाउन अरु थुप्रै भोला चालिसेहरुको प्रतिक्षा गरिरहेका छौं ।” नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष श्री विज्ञान अधिकारीले किताबको नाम एकदम उपयुक्त भएको बताउनुभयो । “अर्थतन्त्रमै अल्पविराम लागिरहेका बेला डा. चालिसेले अगाडि बढाउनुभएका कामहरुमा पनि अल्पविराम लागेको छ भन्न सकिन्छ ।”

कार्यक्रमको अन्त्यमा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर, डा. चिरन्जीवि नेपालले भन्नुभयो  “अहिलेको बेलामा डा. भोला चालिसेका विचार झन् महत्वपूर्ण छन् । वहाँको विचारलाई सम्मान गर्नु नै वहाँप्रतिको सच्चा सम्मान हो । (…) नेपालमा पहिलो चरणको उदारीकरणमै हामी अडिक्रहेका छौं र दोस्रो चरणको सुधार हुन सकेको छैन । यसको एउटा कारण भनेको नीति निर्माताहरु सँधै मध्यमार्गी हुन खोज्नु र स्पष्ट नहुनु हो । उदार अर्थतन्त्र र विश्वव्यापीकरणका विषयमा भोला सरको भने विचार स्पष्ट थियो र उक्त विचारलाई निरन्तर रुपमा अगाडि लाग्नुभयो ।”

पुस्तक ‘अल्पविराम’ मा स्वर्गिय डा. चालिसेका ५० लेखहरु तथा केही गनेचुनेका अन्तर्वाताहरु समावेश गरिएको छ । उनलाई नजिकै बाट चिन्ने वा निकट बसी काम गर्नेहरुले पनि सो पुस्तकमा उनीसँग काम गर्दाको अनुभव र उनको चिन्तनमाथि आफ्ना टिप्पणी समावेश गरी लेखेका लेखहरु पनि यस पुस्तकमा राखिएका छन् । माननीय व्यवस्थाविका संसदका सदस्य तथा पूर्व अर्थ मन्त्री डा. रामशरण महत, माननीय महालेखापरिक्षक श्री भानु प्रसाद आचार्य, पूर्व सचिव श्री विमल वाग्ले, नेपाली काँग्रेसका नेता श्री मनमोहन भट्टराई, वरिष्ठ पत्रकारहरु श्री केशव गौतम, श्री हरि बहादुर थापा, तथा श्री कुबेर चालिसे, जलविद्युत विषेशज्ञ श्री डम्बर नेपाली, तथा राष्ट्रिय योजना आयोगका सह–सचिव श्री गोपीनाथ मैनालीले डा. चालिसेका सम्झनामा लेख्नुभएका लेखहरु यस पुस्तकमा समाहित छन् ।

‘अल्पविराम’ सात मुख्य भागमा बाँडिएको छ – केन्दि«य योजना प्रणली र यसका विकल्प, निजीकरणको आवश्यकता र मर्म, आर्थिक नीति र व्यवसायिक वातावरणमा टिप्पणी, संघियता र व्यक्तिगत स्वतन्त्रता, सरकारको भूमिका, विद्युत क्षेत्रमा सुधार र समसामयिक विषयहरुमा बहस । अन्तिम आँठौ भागमा भने डा. चालिसेका अन्य केही लेखहरु प्रस्तुत गरिएको छ ।

पुस्तक यहाँबाट डाउनलोड गर्नुहोस् ।