Publications

अल्पविराम

दुई दशक भन्दा लामो समय निजामती सेवामा बिताएका र निरन्तर देशको आर्थिक सुधारका बारे आवाज उठाउने अर्थशास्त्री तथा नेपाल सरकारका पूर्व सचिव स्व. डा. भोलानाथ चालिसे उद्योग नीति, २०४९, औद्योगिक व्यवसाय ऐन, २०४९, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९, र कम्पनी ऐन, २०५३ जस्ता नीतिहरुका प्रमुख शिल्पी रहेका थिए । उदार अर्थतन्त्रका हिमायती भनेर परिचित डा. चालिसेले आफ्नो जीवनअवधिभर उदारवादी सिद्धान्तमा रहेर संघियता, विकेन्द्रीकरण, केन्द्रिय योजना, आर्थिक नीति, विदेश नीति आदि जस्ता विषयहरुमा सयौं लेखहरु लेखे र देशको अर्थराजनीतिक परिवेशमा आवश्यक र सुहाँदो सुधारहरुका लागि आफ्ना लेख तथा अन्तरवार्ताहरुबाट आवाज उठाए । उनको यही योगदानलाई स्मरण गर्दै समृद्धि फाउण्डेशन तथा चालिसे परिवारले २०७३ वैशाखमा उनको दुखद निधनको पहिले वर्ष पुग्दा  उनको स्मृतिमा उनका प्रकाशित लेखहरुको संग्रह “अल्पविराम” तयार गरेका हुन्। 
 
पुस्तक ‘अल्पविराम’ मा स्वर्गिय डा. चालिसेका ५० लेखहरु तथा केही गनेचुनेका अन्तर्वाताहरु समावेश गरिएको छ । उनलाई नजिकै बाट चिन्ने वा निकट बसी काम गर्नेहरुले पनि सो पुस्तकमा उनीसँग काम गर्दाको अनुभव र उनको चिन्तनमाथि आफ्ना टिप्पणी समावेश गरी लेखेका लेखहरु पनि यस पुस्तकमा राखिएका छन् । माननीय व्यवस्थाविका संसदका सदस्य तथा पूर्व अर्थ मन्त्री डा. रामशरण महत, माननीय महालेखापरिक्षक श्री भानु प्रसाद आचार्य, पूर्व सचिव श्री विमल वाग्ले, नेपाली काँग्रेसका नेता श्री मनमोहन भट्टराई, वरिष्ठ पत्रकारहरु श्री केशव गौतम, श्री हरि बहादुर थापा, तथा श्री कुबेर चालिसे, जलविद्युत विषेशज्ञ श्री डम्बर नेपाली, तथा राष्ट्रिय योजना आयोगका सह–सचिव श्री गोपीनाथ मैनालीले डा. चालिसेका सम्झनामा लेख्नुभएका लेखहरु यस पुस्तकमा समाहित छन् ।