नेपालको कम्पनी ऐन २०६३ मा अर्थतन्त्रको नयाँ परिवेश अनुसार आवश्यक सुधारहरु ल्याउनका लागि पछिल्लो समयमा उद्योग मन्त्रालयको पहलमा ऐनको नयाँ मस्यौदा तयार भएको छ । यस पहलले नेपालमा कम्पनी स्थापना तथा संचालनलाई सहज बनाउँदै उद्यमशीलता प्रर्वद्धन गरी समग्र अर्थतन्त्रलाई उकास्न सकारात्मक भूमिका खेल्ने कुरामा हामी आशावादी छौं ।
विश्व बैंकको वार्षिक प्रकाशन “डुइङ्ग बिजनेस” प्रतिवेदनमा नेपालको स्थान दक्षिण एसियाली मुलुकहरुको तुलनामा राम्रो देखिएता पनि विश्वका अन्य देशहरुसँग तुलना गर्दा सुधारका निकै अवसरहरु रहेको प्रष्ट देख्न सकिन्छ । विश्वव्यापीकरणको विस्तार भई विश्वका धेरै मुलुकहरुले खुला बजार अर्थतन्त्रका सिद्धान्तअनुरुप आर्थिक नीतिहरु अबलम्बन गर्दै जाँदा नेपालमा वैदेशिक लगानी तथा प्रविधि भित्रयाउन नेपालले दक्षिण एसियामा मात्र नभई विश्वभर नै प्रतिस्पर्धा गर्नुपर्ने र यसै सँगसँगै आन्तरिक लगानी प्रर्वद्धन गर्नका लागि पनि विभिन्न सुधारहरु गर्नुपर्ने अवस्थामा हाल छलफल भइरहेको कम्पनी ऐनमा उल्लेखित कानूनी प्रावधानहरुले महत्वपूर्ण भूमिका खेल्छ ।
कम्पनी ऐनको सुधार मार्फत व्यवसाय गर्ने वातावरणमा पनि राम्रो सुधार गर्न सकिन्छ र हाम्रो कम्पनी कानुनको सुधार पनि कम्पनी खोल्न, त्यो कम्पनी संचालन गर्न र आवश्यक परेमा कम्पनी बन्द गर्न सहज बनाउने नै उद्देश्यका साथ गरिनु पर्दछ । तथापि, नेपाललाई समृद्धितर्फ लम्कन सहयोग पुर्याउनका लागि सन् २००७ देखि प्रयासरत आर्थिक नीति अध्ययन प्रतिष्ठानका हैसियतले समृद्धि फाउण्डेशनले कम्पनी कानूनमा दक्षता भएका विज्ञहरुसँगको सहकार्यमा प्रस्तावित मस्यौदामा आवश्यक परिमार्जनका बुँदाहरु तयार पारेको छ ।
“कम्पनी ऐनको नयाँ मस्यौदा परिमार्जनमा समृद्धि फाउण्डेशनका सुझावहरु” डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्।