वर्तमान राजनीतिक संकटको निकासका लागि ऐतिहासिक बहस कार्यक्रम

‌म‌ंिसर १९, २०७२

नेपालको नयाँ संविधानका केही प्रावधानहरुमा असहमति जनाउँदै तराई मधेशमा आन्दोलन शुरु भएयता पहिलोपटक आन्दोलनरत दलहरु र सरकारमा रहेका तथा प्रतिपक्षि दलहरु एकै मन्चमा आई “निकासका लागि बहस” गरेका छन् । मंसिर १९, २०७२ साँझ ७ बजे सरकार र आन्दोलनरत दलहरुबीच हुने भनिएको औपचारिक वार्ताको अन्तिम घडीसम्म चलेको यस खुल्ला बहस कार्यक्रम समृद्धि फाउण्डेशन तथा फ्याक्टस रिसर्च एण्ड एनालाइटिक्सले एभन्यूज टेलिभिजन, सगरमाथा टेलिभिजन, न्यूज २४, हिमालय टिभि, अन्नपूर्ण पोष्ट, राजधानी दैनिक, नेपाल समाचारपत्र तथा ब्रोडकास्टर्स एशोशियसन नेपालसँगको सहकार्यमा आयोजना गरेका थिए । दिउँसो चार बजे शुरु भएको यस बहस कार्यक्रम एभन्यूज टेलिभिजन, सगरमाथा टेलिभिजन, न्यूज २४, र हिमालय टिभिमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

आन्दोलनरत दलहरु र सरकार, दूवैले आ–आफ्नो तर्फबाट पहल गर्दा पनि समस्या समाधान हुन नसकेको अवस्थामा समस्याको दिगो समाधानका विकल्पहरु के छन् त भनेर दूवै पक्षहरुहरुले एकै मन्चमा आई खुल्ला रुपमा जनताका सामु वस्तुगत छलफल गरेको यो पहिलोपटक हो । जनताको प्रतिनिध्त्व गर्ने राजनीतिक दलहरुले अहिलेको अवस्थामा लिएको दृष्टिकोण पछाडिको तर्क र मर्मलाई यस छलफल कार्यक्रमले वास्तविक रुपमा अघि ल्याएको  र यसले आपसी समझदारी बढाउन थप सहयोग पुर्याएकाे िवश्वाश आयोजकहरुले लिएका छन् ।

कार्यक्रममा सहभागी राजनीतिक दलका शीर्ष नेताहरु निम्नानुसार रहेका छन् ः

मा. श्री उपेन्द्र यादव
अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल

श्री अशोक राई
सह–अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल

श्री महन्थ ठाकुर
अध्यक्ष, तराई–मधेश लोकतान्त्रिक पार्टी

मा. श्री लक्ष्मणलाल कर्ण
सह–अध्यक्ष, सद्भावना पार्टी

श्री मनिष कुमार सुमन
महासचिव, सद्भावना पार्टी

मा. श्री रामचन्द्र पौडेल
उपसभापति, नेपाली काँग्रेस

मा. श्री रामशरण महत
केन्द्रिय सदस्य, नेपाली काँग्रेश

श्री नारायणकाजी श्रेष्ठ (प्रकाश)
उपाध्यक्ष, एनेकपा (माओवादी)

मा. श्री माधव कुमार नेपाल
बरिष्ठ नेता, ने.क.पा. (एमाले)

मा. श्री भिम रावल
रक्षा मन्त्री, नेपाल सरकार

कार्यक्रममा भएको मुख्य छलफल

आयोजकका तर्फबाट श्री भास्कर राजकर्णिकारले कार्यक्रमको शुरुवातमा नेतागढलाई स्वागत गर्नुभयो र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो । नेपाली जनतालाई केन्द्रविन्दुमा राखेर गरिएको यस बहसमा आन्दोलनरत दलहरु र सरकार, दूवैले आ–आफ्नो तर्फबाट धेरै पहल गर्दा पनि समस्या समाधानको बाटोतिर लाग्नु भन्दा पनि किन पटक पटक झन् गहिरिँदै गएको छ र यसको दीर्घकालिन निकास के हो त भन्ने विषयमा आफ्नो प्रष्ट मत राख्ने मन्चका रुपमा यस कार्यक्रम आयोजना गरिएको वहाँले बताउनुभयो ।

संचारकर्मीद्वेय श्री टीकाराम यात्री र श्री प्रेम बानिँयाद्वारा सहजीकरण गरिएको यस छलफल कार्यक्रममा पहिलो चरणको छलफलमा “अहिलेसम्म के भयो र हामी कहाँ अड्कियौं” भन्ने विषयमा दलिय नेताहरुको धारणा अघि ल्याइएको थियो ।

मधेशवादी नेताहरुले अहिलेसम्म भएको वार्ताहरुमा दुईवटा महत्वपूर्ण पक्षहरु औंल्याए । पहिलो पक्ष आन्दोलनमा उठाइएका महत्वपूर्ण विषयहरु जस्तै नागरिकता, प्रदेशको सीमाङ्कन, राजनीतिक प्रतिनिधित्व, आत्मनिर्णयको अधिकार, आदि नै हुन् भने अर्को महत्वपूर्ण विषय वार्ताको वातावरण बनाउनु थियो । वार्ताको वातावरण बनाउने क्रममा सशस्त्र प्रहरी र सेना प्रयोग गरेर आन्दोलन दबाउने प्रयास नगर्नु र समातिएका कार्यकर्तालाई छोड्नु महत्वपूर्ण कदम रहेको मधेशवादी नेताहरुले जनाए ।

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुरले कार्यक्रमको शुरुवातमा बजेको राष्ट्रिय गानको भाव अनुरुप नै नेपालका सयौं थुँगा फूललाई एउटै मालामा गाँस्ने एक समावेशी राष्ट्र बनाउनकै लागि अहिलेको मधेश आन्दोलन भइरहेको वक्तव्य दिएका थिए ।

संघीय समाजवादी फोरमका नेपालका अध्यक्ष मा. श्री उपेन्द्र यादवले संविधानमा प्रदेशहरुलाई आत्मनिर्णयको अधिकार नदिइएको र मधेश अहिलेसम्म एक “आन्तरिक उपनिवेश” रहेको जनाए । सद्भावना पार्टीका सह–अध्यक्ष मा. श्री लक्ष्मणलाल कर्णले भने नागरिकताको व्यवस्था अन्तरिम संविधानमा जस्तो रहनुपर्ने बताउनुभयो ।

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुरले कार्यक्रममा मधेशले नेपालको विविधता प्रतिनिधित्व गर्ने भएतापनि मधेश सँधै सीमान्तकृत भएको बताए । नयाँ संविधानमा धेरै अधिकार दिइएको तर अबको चूनौती भने ती अधिकारहरु सुनिश्ति गर्ने हो भनेर नेपाली काँग्रेसका वरिष्ट नेता श्री राम शरण महतको भनाइमा श्री महन्थ ठाकुरले अधिकार भएपनि प्रतिनिधित्व संविधानले नदिएको भनी जवाफ फर्काएका थिए ।

श्री राम शरण महतले निकास सडकबाट होइन संसदबाट खोज्नुपर्ने र अर्थतन्त्र धारासायी हुन दिन नहुने कुरामा जोड दिए । यसैमा एनेकपा माओवादीका उपाध्यक्ष श्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पनि समस्याको समाधान राजनीतिक प्रक्रियाबाट खोज्नुपर्ने बताए ।

कार्यक्रममा उपस्थित नेपाली काँग्रेसको अर्का नेता, पार्टी उपसभापति मा. श्री रामचन्द्र पौडेलले पहिलो प्रयास नै उत्तम नहुने र प्रदेश सीमाङ्कनमा पनि त्यही कुरा लागू हुने जनाँउदै वार्ताका माध्यमबाट सुधार गर्दै लानुपर्ने भनाइ राखे । नेकपा एमालेका वरिष्ट नेता माननीय माधव कुमार नेपालले अहिलेको आन्दोलनबाट आएको आर्थिक संकटले सामाजिक र आर्थिक रुपमा सीमान्तकृतहरुलाई झनै मर्का पारेको पनि बताए । अर्कातिर संघिय समाजवादी फोरमका सहअध्यक्ष अशोक राईले भने नयाँ संविधानबाट शान्ति आउन नसकेको र यसले सीमान्तकृत वर्गलाई समाहित गर्ने नसकेको वक्तव्य दिए ।

कार्यक्रमको अर्को चरणमा मधेशी मोर्चा र दलहरुबीच विगतमा भएका ८ बुँदे, ११ बुँदै सम्झौताहरुका बारे प्रस्तुति भयो । नागरिकको सकस नामक अर्को छलफल चरणमा सहभागी दर्शकहरुले लिखित रुपमा बुझाएका प्रश्नहरुमध्येबाट सम्पादक मण्डलले छानेका केही प्रश्नहरुको जवाफ नेतागढले दिएका थिए । कार्यक्रमको अन्त्यमा भने अबको निकास के त भनेर सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई सोधिएको थियो ।

माननीय रक्षा मन्त्री तथा एमालेका शीर्ष नेता भीम रावलले २४ घण्टासम्म एकै ठाँउमा बस्नुपर्छ भनेपनि छलफल गरेर समाधान निकाल्न आफू तत्पर रहेको वक्तव्य दिए । माननीय उपेन्द्र यादवले एक समिति बनाई तीन महिनामा समस्याको समाधान निकाल्ने प्रस्ताव राखे तर यदि मानसिकता परिवर्तन नभए समाधान अघि नआउने चेतावनी पनि दिए ।
अन्त्यमा नेपालको निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्री कुश कुमार जोशीले भूकम्प जस्तो अनपेक्षित संकटमा हामी सबै एक भई एकअर्कालार्ए सहयोग गर्न उर्लिएको तर अहिलेको अपेक्षित समस्यामा भने विभाजीत भएकोमा खेद प्रकट गर्दै समाधान तुरुन्तै खोजी अर्थतन्त्रलाई पुनः बलियो बनाउन लाग्नुपर्नेतिर बताए ।