Publications

आ. व. २०७३-०७४को बजेटले सम्बोधन गर्नुपर्ने नीतिगत सुधारका लागि सुझावहरु

विनियोजन विधेयक, २०७३का सिद्धान्त र प्राथमिकता र आर्थिक वर्ष २०७३-७४ को नेपाल सरकारको नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार यदि आउँदो दशकलाई उच्च आर्थिक वृद्धिको दशक र यस वर्षलाई उक्त प्रक्रिया शुरु (किकस्टार्ट) गर्ने वर्षका रुपमा लिने विषयलाई गम्भीरता साथ मनन गर्ने हो भने आर्थिक नीतिहरुमा आयामिक सुधार ल्याउनु अपरिहार्य छ । नेपालमा अहिले एकदमै खट्किएको दास्रो चरणको आर्थिक सुधारको यस बजेट सुरुवाति बिन्दु बन्न सक्छ । विद्यमान चुनौती तथा समस्याहरुको बारे खुलेर र गहिराईमा बहस गरी, भएका समस्याहरुलाई स्वीकार गरी, सुधारका लागि प्रतिबद्ध हुनु यस सुधार प्रक्रियाको पूर्वशर्त हो । पछिल्लो समयमा एक दशकको छोटो अवधिमै नाटकीय ढंगले आर्थिक वृद्धि गरेको जर्जिया, फिलिपिन्स, रुवान्डा, तथा हाम्रै छिमेकी मुलुक भारतको पनि उदाहरण लिने हो भने, यी देशका निर्णय गर्ने स्थानमा भएका व्यक्तिहरुले अल्पकालीन लोकप्रियतालाई प्राथमिकता नदिएर भए पनि गाह्रो तर अत्यावश्यक सुधारहरु अघि ल्याई दीर्घकालीन सम्मान र लोकप्रियता हासिल गरेको देखिन्छ ।

सन् २०२२ सम्ममा विकासशील मुलुकको रुपमा परिचित गराउनका लागि आवश्यक नीतिगत सुधारका कार्यक्रम चरणबद्ध रुपमा अगाडि बढाउनुपर्ने देखिन्छ । यसका लागि नेपालको निजी क्षेत्रको मात्र नभई वैदेशिक लगानीकर्ताहरुको पनि अर्थतन्त्रमा सहभागिता बढाउनु अपरिहार्य भइसकेको छ, जसका लागि व्यवसाय गर्ने वा लगानीको वातावरणमा सुधार गर्नु नितान्त जरुरी छ । यसमा सरकारको भूमिका सहजकर्ताको रुपमा रहने नीति अनुरुप व्यवसायिक वातावरण सुधार गर्न आवश्यक नीतिगत पहल नेपाल सरकारले गर्नु आवश्यक छ । यस्तो सुधारको टड्कारो आवश्यकता भएको दशार्उने विभिन्न उदाहरणहरुमध्ये विश्व बैंकले वार्षिक रुपमा निकाल्ने डुइङ्ग बिजनेसको अन्तर्राष्ट्रिय प्रतिवदेन एक प्रमुख सूचक हो । सन् २००६ मा उक्त प्रतिवेदनको ५५ औं स्थानमा रहेको नेपाल अहिले ९९ औं स्थानमा आइपुगेको छ । दोस्रो चरणको आर्थिक सुधार ल्याई नेपालमा व्यवसाय गर्ने वातावरण सहज बनाई यस्ता प्रतिवदेनमा स्तरोन्नित गर्दै नेपाली तथा विदेशी लगानीकर्ताहरुको नेपाली अर्थतन्त्रमाथि विश्वास अझ दृढ पार्दै लाने लक्ष्य यस बजेटले लिनु जरुरी छ ।

Download “बजेट २०७३-०७४ – दोस्रो चरणको आर्थिक सुधार तर्फ”

आ.-व.-लागि-२०७३÷०७४को-बजेटले-सम्बोधन-गर्नुपर्ने-नीतिगत-सुधारका-लागि-सुझावहरु.pdf – Downloaded 2095 times – 241.08 KB

Loading