Publications

आर्थिक असमानता: एक परिचय

एडम स्मिथ इन्स्टिच्युटका निर्देशक बटलरले आर्थिक समानतालाई दार्शनिक, नैतिक, व्यावहारिक सबै हिसाबले समस्याग्रस्त अवधारणा हो भनेका छन् । दुई वर्षअघि प्रकाशनमा आएको उनको पुस्तक ‘एन इन्ट्रडक्सन टु इकोनोमिक इनइक्वालिटी’ मा ती विषय समेटेर शास्त्रीय उदारवादी दृष्टिकोण प्रस्तुत गरिएको छ ।

यो पुस्तकलाई समृद्धि फाउन्डेसनले नेपालीमा अनुवाद गरी बजार ल्याएको हो । विप्लव प्रतीक यसका अनुवादक हुन् । समतावादीहरूको दबदबा रहेको हाम्रो परिवेशमा असमानता के हो ? र यो किन हानिकारक छैन ? भन्ने बुझ्न यो पुस्तक उपयोगी छ ।

पुस्तकलाई १७ अध्यायमा विभाजन गरिएको छ । सुरुका अध्यायमा असमानताको बहस, मापन, अन्तर्राष्ट्रिय तुलना लगायत विषय समेटिएको छ भने पछिल्ला अध्यायमा समानता कायम गर्न प्रस्तुत गरिएका नैतिक आधार, नीतिगत उपायहरूको खण्डन गरिएको छ ।

तथ्य र तर्कसहित बटलर आर्थिक असमानता वरिपरि खडा गरिएका भ्रम, मिथ्यांक, नैतिक आधारलाई भत्काउँछन् । र, पाठकलाई गरिब, गतिहीन तर अधिक समान आदिम समाज रोज्ने कि समृद्ध, गतिशील तर कम समान आधुनिक समाज रोज्ने भन्ने छलफलमा निम्त्याउँछन् ।

असमानता निमिट्यान्न पार्नुपर्छ भन्नेहरूले नै तयार पारेको आँकडा हेर्ने हो भने धनी मुलुक तुलनात्मक रूपमा बढी समान छन् भने दरिद्र मुलुक तुलनात्मक रूपमा बढी असमान छन् । यस अवस्थामा हाम्रो प्राथमिकता केमा हुनुपर्छ ? गरिबी निवारण कि असमानता निवारण ?

Download “आर्थिक असमानता: आखिर के हो?”

An-Introduction-to-economic-inequality_Nepali.pdf – Downloaded 4565 times – 1.79 MB